September 23, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सगरमाथाको उचाइ मापन

रु बुद्धिनारायण श्रेष्ठ 

नेपालको संयोजकत्वमा भारत र चीनका विज्ञहरू पनि संलग्न टोलीले यकिन उचाइ निर्धारण गर्नसके राम्रो हुन्छ। 

भारतको हैदरावादस्थित सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनःमापन गर्ने भनेको छ। यो कुरा संस्था २ सय ५० वर्ष पुगेको अवसरमा हालै आयोजित कार्यक्रममा सर्भेयर जनरलले बताएका छन्। विश्व चुलीको उचाइ फेरि नाप्नुपर्ने कारणमध्ये नेपालमा २०७२ वैशाख १२ को भूकम्पका कारण उचाइ घटेको छ कि भन्ने शङ्का निवारण गर्न र भूगर्भीय प्लेट हलचल भएको छ कि भनी वैज्ञानिक अध्ययन गर्ने उद्देश्य रहेको जनाइएको छ। 

सगरमाथाको उचाइ यसअघि धेरैपटक विदेशी संस्थाहरूले मापन गरिसकेका छन्। तीमध्ये कसैले उचाइ बढेको जिकिर पेस गरेका छन् भने कतिपयले घटेको कुरा र अन्यले उचाइ स्थिर रहेको विवरण विश्वसामु ल्याएका छन्। तर नेपालमा रहेको विश्व सम्पदा सगरमाथाको उचाइ नेपाल आफैंले कहिल्यै मापन गरेको छैन। नेपाल सरकारको भनाइ रहेको छ– कसैले बढ्यो भने तापनि हामी पत्याउँदैनौं। घटी भन्यो भने पनि हामी मान्दैनौं। हामी पारम्पारिक उचाइमा विश्वास राख्छौं।  

उचाइको इतिहास  

ब्रिटिसकालीन भारतका सर्भेयर जनरल सर जर्ज एभेरष्ट र भारतीय सर्भे विशेषज्ञ राधानाथ सिकन्दर तथा नेपाली कर्पोरल तेजवीर बुढाथोकीको संयुक्त प्रयासमा संसारको सबभन्दा अग्लो शिखर सन् १८५२ मा पत्ता लागेको थियो। यस सर्वाेच्च शिखरलाई 'पिक एक्सभी (पन्ध्रौं चुली)' नामकरण गरिएको थियो। यस चुलीलाई लन्डनको रोयल जोग्राफिकल सोसाइटीले ब्रिटिस सर्भेयरको सम्मानमा उनकै नामबाट सन् १८६५ मा 'माउन्ट एभरेष्ट' नामकरण गर्‍यो। नेपालमा यस शिखरलाई इतिहास शिरोमणि बाबुराम आचार्यले अनुसन्धान गरी सन् १९५६ (सम्वत् २०१३) मा 'सगरमाथा'बाट चिनाए। चीनमा यसलाई 'झोमोलोङ्मा' भनिन्छ भने तिब्बती भाषामा 'मिटिगुटी चापुलोङ्मा' भनी देवीको रूपमा पूजा गरिन्छ।  

सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न देशहरूले विभिन्न समयमा फरक―फरक उचाइ तोकेको पाइन्छ, जुन यसै लेखसँग राखिएको बक्स सामग्रीमा उल्लेख छ। विश्वका विभिन्न देशले विभिन्न उचाइ तोकेको सन्दर्भमा नेपाल रनभुल्लमा परेको छ। नेपालले अहिलेसम्म आफ्नै बलबुतामा नाप्नसकेको छैन। अनि अन्य देशले घटबढ गरेको उचाइ मापनमा यस्ता–यस्ता प्राविधिक कारणले ठिक छ या छैन भनी प्रतिवाद वा समर्थन गर्न पनि सकेको छैन।  

सगरमाथाको उचाइ सम्बन्धमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाको भनाइ छ– सस्तो 'रोयल्टी'मा चीनतर्फबाट झोमोलोङ्मा र सगरमाथा चढ्ने पर्वतारोहीहरूले ८,८४४.४३ मिटरमा सफल आरोहण गरेको प्रमाणपत्र दिने गरियो। नेपालतर्फबाट चढेका सफल आरोहीले ८,८४८ मिटर उक्लेको प्रमाणपत्र पाए। नेपालबाट चढ्ने आरोहीले चीनतर्फबाट उक्लने आरोहीलाई 'तिमी एभरेष्ट चुलीभन्दा ३ मिटर तलसम्म मात्र पुगेका छौं' भन्ने विवाद चुलियो। यसपछि चीनले अब सफल आरोहीलाई ८,८४८.१३ मिटर भनी प्रमाणपत्र प्रदान गर्न थालेको छ।  

यहाँ यो प्रसङ्ग उल्लेख गर्नुको कारणचाहिं हिमालचुलीको यथार्थ उचाइ भावनात्मक तरिकाले तोकिने होइन। सबै प्रकारको प्राविधिक तथ्याङ्कका आधारमा यसलाई तोकिने गर्नुपर्छ भन्ने कुरामा प्रकाश पार्न खोजिएको हो।  

भारतद्वारा पुनःमापन 

सर्भे अफ इन्डियाले भनेको छ, 'नेपालमा हालैको भूकम्पका कारण सगरमाथा क्षेत्रको भू–संरचना बदलिएको छ। त्यसैले पुनःमापन गर्नुपरेको हो। यसले वैज्ञानिक अध्ययनमा मद्दत पुर्‍याउँछ। मापन गर्ने कार्य दुई महिनामा सुरु गरी करिब एक महिनामा सर्भेक्षण (अब्जरभेसन) गरिसकिनेछ र अर्काे १५ दिनभित्र तथ्याङ्ग संगणना (कम्पुटेसन) गरी उचाइ घोषणा गरिनेछ। नेपाल नापी विभागका महानिर्देशक देहरादुनको कार्यक्रममा सरिक भइदिएको भए म उनीसँग छुट्टै वार्ता गर्ने थिएँ। यद्यपि जियोस्पासल विश्व मञ्चसँग यसबारे कुराकानी भएको छ। भारतको विदेश मन्त्रालयबाट सबै प्रकारको स्वीकृति लिइसकिएको छ।' 

भारतले सगरमाथाको उचाइ मापन गर्ने कार्यमा दुई विधि अपनाउने योजना तयार गर्नलागेको बुझिन्छ। प्रथमतः ग्लोबल पोजिसनिङ सिस्टम–जीपीएस (भू–उपग्रहीय) प्रविधि अपनाइने र दोस्रो, ट्राङ्गुलेसन (त्रिकोणमितीय) विधि अवलम्बन गर्ने भनिएको छ। स्मरणीय छ, भारतले सन् १९५४ मा पनि त्रिकोणमितीय विधि नै अपनाएको थियो। त्यसबखत त्यही विधि प्रचलनमा थियो।  

अब कुरो आयो, मापन गर्ने समयावधिको। त्यसबखत आवागमन तथा यन्त्र ढुवानी आदि सुविधा अप्ठेरो थियो। सर्भेक्षणमा वर्षौं लागेको पाइन्छ। हाल पूर्वाधार संरचना विकास भए तापनि एक महिनाभित्रै फिल्ड सर्भेक्षण गर्ने लक्ष्य बढी आकाङ्क्षित भएको हो कि भनी यस क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ।  

जीपीएस सर्भेक्षणकै कुरा गर्दा पनि सगरमाथाको शिखरमा जीपीएस यन्त्र लिएर पुग्न प्राविधिकहरूलाई महिनौं लाग्न सक्छ। उनीहरूलाई वातावरणमा बानी (एक्लामेटाइज) पार्न आधार शिविरमा करिब एक महिना बस्नुपर्ने हुन्छ। अर्काेतर्फ जीपीएसबाट प्राप्त कोरा तथ्याङ्क (र डाटा) लाई प्रशोधन गरी संगणना गर्न पनि महिनौं लाग्छ। यसलाई परिशुद्ध गर्न ग्राभिटेसनल एनोमोली, भर्टिकल अफ डिफ्लेक्सन, जिओआइड, टेक्टोनिक मोसन, एट्मस्पि्कएरिक करेक्सनजस्ता प्रविधियुक्त जोड–घटाउ आवश्यक पर्ने हुन्छ। जीपीएस प्रविधिबाट पाइने डब्लुजीएस –८४ तथ्याङ्कलाई पारम्पारिक ट्राङ्गुलेसनसँग दाँज्ने कन्भर्सन प्यारामिटर आदिमा चलखेल गर्न पनि अर्काे महिना लाग्न सक्ने हुन्छ।  

यहाँ यी कुरा किन गरिंदैछ भने कतै हतारमा सर्भेक्षण र संगणना गरिएको तथ्याङ्कले परिशुद्ध नतिजा ननिक्लिएर सगरमाथाको उचाइ पाकिस्तानको के–टु (माउन्ट गडविन अस्टिन) भन्दा होचो देखियो भने नेपालले के गर्ने भन्ने सवाल उठ्न सक्छ।  

अमेरिकाको नेसनल जियोग्राफिक सोसाइटीले बोस्टन म्युजियम अफ साइन्सका डाइरेक्टर डा. वासबर्नको संयोजकत्वमा सगरमाथाको उचाइ मापन कार्यमा लगभग दुई वर्ष खर्चेको थियो। त्यसबखत सगरमाथा आधार शिविरभन्दा दक्षिणको कालापत्थर, लोबुचे, फेरिचे, थाङबोचे, स्याङबोचे, नाम्चे, लुक्ला, अपरराउजे, लोअरराउजे आदि स्थानमा मेरो नेतृत्वको नेपाली टोलीले जीपीएस सर्भेक्षण गरी कोरा तथ्याङ्क अमेरिका पठाएको थियो। त्यसलाई कोलोराडो विश्वविद्यालयबाट प्रशोधन गरिएको थियो। यसरी तयार पारिएको परिशुद्ध तथ्याङ्कका आधारमा सगरमाथाको नयाँ उचाइ निर्धारण गरिएको थियो। सगरमाथा छेउछाउ नेपाली र तिब्बती भूमिसमेत देखिनेगरी 'सगरमाथा र माउन्ट एभरेष्ट र चोमोलोङ्मा' नामक नक्सा तयारी पारी नेसनल जियोग्राप्किक म्यागेजिनका साथ विश्वभरका ११ लाख ग्राहककहाँ त्यो नक्सा वितरण गरिएको थियो।  

नेपाल आफैंले मापन गर्न सक्छ? 

सगरमाथा हाम्रो देशको सम्पत्ति भएकोले हामी आफैंले मापन गर्नुपर्छ। हाम्रो सम्पदाको मापन गर्ने उत्तरदायित्व हाम्रै हो। हामीले वैज्ञानिक तरिकाले विश्वलाई विश्वस्त पार्ने विधि र प्रविधिद्वारा मापन गरी हामीले निकालेको परिशुद्ध उचाइ संसारले नै मान्यता दिन्छ। कुरा आयो, हामी नापो गर्न सक्छौं या सक्दैनौं? यसको प्राविधिक जवाफ हो– मज्जाले सक्छौं।  

हामीकहाँ यस क्षेत्रमा काम गर्ने प्राविधिज्ञहरू छन्। उनीहरूले नयाँ प्रविधि जानेका छन्। विदेशी मुलुकमा जीपीएस प्रविधिबाट सफल सर्भेक्षण परिणाम निकालेका नेपालीहरू नेपालमै छन्, तर वातावरण छैन। यन्त्र औजारको अभाव छ। सगरमाथाको उचाइ मापन गर्ने खर्चिलो योजनामा नेपाल सरकारले चाहिंदो धनराशि छुट्याउनसकेको छैन। सांसद गगन थापा सभापति रहेको तत्कालीन संसदीय समितिको बैठकमा आमन्त्रित यस पङ्क्तिकारको समेत सुझावअनुसार समितिबाट पारित गरी आवश्यक बजेट प्रबन्ध गर्न सरकारसमक्ष पठाइयो। तर सगरमाथाको उचाइ मापन गर्ने कार्य अनुत्पादक भनी अर्थ मन्त्रालयको रातो किताबमा चढ्न सकेन।  

उचाइ मापन कार्यका लागि नापी विभागको संयोजकत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विज्ञान विभाग, विज्ञान तथा प्रविधि प्रतिष्ठान, इसिमोड, विज्ञान तथा प्रविधि मन्त्रालय, कम्प्युटर एसोसिएसन अफ नेपालजस्ता संस्थालाई संलग्न गरी प्राविधिक समिति गठन गरिएमा यसले सफलताका साथ मापन कार्य सम्पन्न गर्नसक्छ।  

नेपाल–भारत–चीन सहकार्य 

सगरमाथा नेपालको भूमिमा अवस्थित छ र यसको मापनका लागि नेपाली प्राविधिज्ञहरू सक्षम छन्, तापनि विश्वसनीयताका लागि नेपालको संयोजकत्वमा भारत र चीनका विज्ञहरूलाई पनि संलग्न गरी एकीकृत टोलीले सगरमाथाको यकिन उचाइ निर्धारण गर्नसके विश्वले नै यसलाई मान्यता दिने थियो। 

नेपालमा हालैको भूकम्पका कारण भू–भौतिक संरचना केही मात्रामा खलबलिएको पाइन्छ। २०७२ वैशाख १२ को भूकम्पको तेस्रो दिनदेखि नापी विभागले जीपीएस प्रविधिको माध्यमबाट भूकम्प अगावै र भूकम्पपश्चात् काठमाडौं खाल्डोको जमिनको अवस्थिति पत्ता लगाई तथ्याङ्क तुलना गरेको थियो। परिणामतः नगरकोट, फूलचोकी, स्वयम्भू, बुङमती, स्युचाटार आदि स्थान दक्षिण–पश्चिमतर्फ ०.९२ देखि ०.८२ मिटरसम्म धकेलिएको र उचाइ ०.६३ देखि १.१६ मिटरसम्म अग्लिएको पाइएको थियो। यिनै तथ्यबाट पनि हिमालय क्षेत्रको भू–भौतिक संरचनामा केही फेरबदल भएको हुनसक्छ भनी अनुमान गर्न सकिन्छ।  

यस परिप्रेक्ष्यमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घटेको छ―छैन भन्ने शङ्का उत्पन्न भएको छ। यस्तो शङ्का निवारण गर्नुपर्ने नै हुन्छ। यसका लागि भारत एक्लैले गर्नलागेको सगरमाथाको उचाइ मापन कार्यमा नेपालले भारतसमक्ष अनुरोध गरी भारत, चीन र नेपालले संयुक्त रूपमा सगरमाथाको उचाइ निर्धारण गरी विश्व समुदायको शङ्का निवारण गर्न नेपालले पहल गर्नुपर्छ।